नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुन गइरहेको प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिताको ट्रफी आज एक कार्यक्रमका बीच अनावरण गरिएको छ ।
नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको प्रमुख आधारको रुपमा रहेको आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालनको पूर्वसन्ध्यामा उक्त ट्रफी अनावरण गरिएको हो ।
फाल्गुण २७ गतेबाट सञ्चालन हुन गइरहेको “प्रथम आई.जि.पि. कप क्रिकेट प्रतियोगिता” का लागि बनाइएको उक्त ट्रफी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले अनावरण गरे । केन्द्रीय स्तरमा सञ्चालन हुने यस प्रतियोगितामा ७ वटै प्रदेश प्रहरी कार्यालय टिम र काठमाडौंको १ टिम गरी कुल ८ टिमको सहभागिता रहनेछ ।
नेपाल प्रहरीको इतिहासमा पहिलो पटक सञ्चालन हुन गइरहेको यस प्रतियोगिताले भविश्यमा संगठन भित्रबाटै स्तरीय खेलाडीहरू उत्पादन गर्न सहयोग पुऱ्याउने विश्वास लिइएको छ । सोही अवसरमा नेपाल प्रहरी क्रिकेटको लागि ड्रिम प्रोजेक्टको रुपमा रहेको इण्डोर क्रिकेट ग्राउण्डको समेत समुद्घाटन गरिएको छ ।
ट्रफी अनावरण कार्यक्रम पश्चात सम्पन्न समुद्घाटन कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकले रिवन काटी उक्त क्रिकेट ग्राउण्डको समुद्घाटन गर्नुका साथै सो पश्चात आफैले ब्याटिङ गरेका थियो जसमा प्रतिष्ठानका निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सह-सचिव प्रहरी नायब महानिरीक्षक डा. मनोज कुमार केसीले बलिङ गरे ।
ट्रफी अनावरण तथा इन्डोर क्रिकेट ग्राउण्ड समुद्घाटन कार्यक्रमपश्चात आफ्नो भनाई व्यक्त गर्ने क्रममा कार्यकारी निर्देशक सुदिप गिरीज्यूले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशकको रुपमा प्रवेश गरेसँगै नेपाल प्रहरी खेलकुद समितिको सदस्य-सचिवको हैसियतले आफूले बोकेको महत्वकांक्षाले आज सार्थकता प्राप्त गरेको यो पलमा आफू गौरवान्वित महसुस गरिरहेको बताए । यसै क्रममा उहाँले खेलकुद क्षेत्रको विकास र विस्तारको लागि आन्तरिक प्रतियोगिता सञ्चालनका साथ साथै संरचना निर्माण एवम् खेलाडीहरूको कार्यक्रमलाई सँगसगै लैजानु पर्दछ ।
सोही विषयलाई हृदयंगम गरी यसै वर्ष हामीले फिजियोथेरापि कक्ष निर्माणको काम सम्पन्न गौं, त्यसैगरी नेपाली क्रिकेटलाई अधिकतम खेलाडी पस्किरहेको नेपाल प्रहरी क्रिकेट टिमको लागि सामान्य किसिमको अभ्यास ग्राउण्ड नरहेको परिप्रेक्षमा हामीले इन्डोर क्रिकेट ग्राउण्ड निर्माण सम्बन्धी ड्रिम प्रोजेक्ट सम्पन्न गर्यो भन्नु हुँदै जसमा खटिनु भएका सम्बद्ध सम्पूर्णले दिनुभएको पूर्ण साथ र सहयोगको लागि मुक्तकण्ठले प्रशंसा गरेका थियो । नेपाल प्रहरीभित्र आन्तरिक खेलकुद प्रतियोगिता आयोजना गर्ने योजना रहँदै आएकोमा उहाँको कार्यकालमा यो वर्ष आई.जि.पि. रनिङ शिल्ड पुरुष फुटबल प्रतियोगिता तथा प्रहरी दिवस रनिङ कप पुरुष फुटबल प्रतियोगिता सञ्चालन भइसेकेको छ ।
प्रहरीको सांगठनिक कार्य प्रकृति भिन्न छ, शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराधको नियन्त्रण र अनुसन्धान जस्तो गहन जिम्मेवारी प्रहरी सामु रहेको छ । र पनि नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई महत्व दिदै आएको छ । त्यसो त नेपाली खेलकुदको इतिहासलाई हेर्ने हो भने पनि विभिन्न खेलका स्तरीय खेलाडी उत्पादनमा नेपाल प्रहरीको उच्च योगदान रहदै आएको छ ।
राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको छ । राष्ट्रिय क्रिकेट टिमको सुरुवाति रोजाईमा समेत नेपाल प्रहरीका सबैभन्दा धेरै खेलाडीहरू रहने गर्दछन् । दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, ललित नारायण राजवंशी, सागर ढकाल, करण के.सी. तथा गुल्सन कुमार झा नेपाल प्रहरीको तर्फबाट राष्ट्रिय टिमको जर्सीमा देखा पर्ने गर्दछन् ।
