नेपालले भारतमा खेल्ने साफ यु–१९ च्याम्पियनसिपका लागि ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएका छन् ।
मुख्यप्रशिक्षक उर्जन श्रेष्ठले बुधबार ५८ खेलाडीलाई छनोटमा बोलाएका हुन् । छनोट चैत १० देखि १२ गतेसम्म ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन हुनेछ ।
राष्ट्रिय टोलीको छनोटमा परेका सबै खेलाडीलाई उपयुक्त फुटबल किटसहित चैत १० गते आइतबार बिहान ८ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न समेत एन्फाले अनुरोध गरेको छ ।
भारतमा हुने साफ अण्डर-१९ च्याम्पियनसिप २०२५ का लागि नेपाली टोली छनोट गर्न लागिएको हो । एन्फाले मंगलबार मात्र नेपाली यु-१९ फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरेको थियो ।
मे ९ देखि १८ सम्म भारतमा हुने साफ अण्डर-१९ च्याम्पियनसिप प्रतियोगितामा ६ टोली सहभागी छन् । नेपालले श्रीलंकासँग खेल्दै साफ अण्डर-१९ च्याम्पियनसिप २०२५ को शुरुवात गर्नेछ ।
समूह ‘बी’ अन्तर्गतको नेपाल र श्रीलंकाबीचको खेल मे ११ मा हुनेछ । भारतको अरुणाञ्चल प्रदेशस्थिग गोल्डेन जुब्ली रशंगशालामा हुने यो खेल नेपाली समयानुसार बेलुकी ७:४५ मा शुरु हुनेछ । नेपालले दोश्रो खेल मे १३ मा घरेलु टोली भारतसँग खेल्ने छ ।
प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् । साफ यु-२० को रुपमा भएको यो प्रतियोगिताको गत संस्करणमा नेपाल उपविजेता बनेको थियो । घरेलु मैदानमै भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।
सन् २०१५ र २०१७ गरि नेपालले अहिलेसम्म दुई पटक यो प्रतियोगिताको उपाधि जितेको छ। गत संस्करण पनि नेपाली टोलीको जिम्मेवारी प्रशिक्षक उर्जनले नै सम्हालेका थिए ।
