युगाण्डामा जारी चार देशीय महिला टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली युगाण्डामाथि रोमाञ्चक जित निकालेको छ । नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले पराजित गरेको ।
युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सना प्रवीनले १७ तथा पुजा महतोले १६ रन बनाइन् ।
कुनै समय ३९-२ को अवस्थामा रहेको नेपालले त्यसपछि ५०-४, ५६-५, ६८-६, ६९-७, ६९-८ हुँदै ६९ रनमै ९ विकेट गुमाएको थियो । अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा रिया शर्मा र ईश्वरी विष्टले रन जोड्दै जित दिलाए ।
युगाण्डाका लागि कप्तान जानेत बाबजीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् भने सारा वालाजाले २ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामू ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युगाण्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको हो ।
नेपालका लागि पुजा महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा ८ रन दिएर २ विकेट लिइन् ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।
नेपालको खेल तालिका
फागुन २६ गते(मार्च १०) – हङकङसँग
फागुन २८ गते(मार्च १२) – नामिबियासँग
फागुन २९ गते(मार्च १३) – युगान्डासँग
फागुन ३० गते(मार्च १४) – हङकङसँग
