विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप-२०८१ छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएका छन् ।
वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा २४.३ ओभरमा सबै विकेट गुमाएर ६३ रनको सामान्य योगफल तयार पार्यो ।
झापाका लागि आशिष राना ममरले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ म्याच प्रकाश कार्कीले ३ विकेट लिँदा भुपाल लुइटेलले २ विकेट लिए ।
६४ रनको सामान्य लक्ष्य पछ्याएको सुनसरीले २५.२ ओभरमा ६ विकेट गुमाएर सो लक्ष्य पार गरेको थियो । सुनसरीको जितमा सुमन घतानीले अविजित २८ रनको योगदान दिए । झापाका लागि सिद्धान्त कमितले ३ विकेट लिए ।
मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा इलामले उदयपुरलाई १२ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ४५ ओभरको खेलमा ३६.४ ओभरमा सवै विकेट गुमाएर १ सय ६५ रनको योगफल बनायो । इलामका लागि जितमा शिवान्स बजगाईले सर्वाधिक ४० रनको योगदान दिए । उदयपुरका लागि सोनु अन्सारीले ३ विकेट लिए ।
१ सय ६६ रनको विजयी लक्ष्य पाएको उदयपुरले ३९ दशमलव ५ बलमा सवै विकेट गुमाएर १ सय ५३ रनमा सिमित भयो । उदयपुरका लागि प्रभात किरणले ३३ रनको योगदान दिँदा सोनु अन्सारीले २८ रनको योगदान दिए । इलामका प्लेयर अफ म्याच इलामका विशाल आचार्यले ३ विकेट लिँदा हेमन राई, सन्दिप ढुंगाना र वि कामतले २-२ विकेट लिए ।
लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि रहेका छन् ।
