लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
आगामी वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा उक्त प्रतियोगिता हुन लागेको हो । पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो ।
प्रतियोगितामा ५ टिम फाइनल भैसकेका छन् भने एउटा टिम छलफलको चरणमा रहेको डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले जानकारी दिए । हालसम्म पाकिस्तान भलिबल क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल भएको छ । भारत र इरानको टिमसँग सल्लाह भइरहेको अर्यालले बताए ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँ पाउनेछ । तेस्रो हुने टिमले भने १ लाख ४४ हजार ४४४ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट घोषित हुनेले समान ८ हजार ४४४ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
