विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ ।
पिएम कपमा लगातार तेस्रो चौथो जित हासिल गर्ने क्रममा पुलिसले मधेश प्रदेशविरुद्ध १ सय ९३ रनको फराकिलो जित हासिल गर्यो ।
शनिवार भएको खेलमा पुलिसले दिएकाे २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा ९५ रनमा अलआउट भयो ।
मधेशका लागि दिपेश दासले सर्वाधिक ३१ रन जोडे । ५९ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका थिए । रुपेश सिंह ९ बलमा २ छक्काको सहयोगमा १६ रनमा आउट भए । विशाल पटेल १३ रनमा आउट हुँदा मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
पुलिसका लागि ललितनारायण राजवंशीले ९.१ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिए । कुशल भुर्तेलले २ तथा करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
त्यसअघि दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको योगफल तयार पारेको थियो ।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन जोडेका थिए । आरिफ शेखले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए ।
दीलिप नाथ ७० बलमा ४५, अर्जुन साउद ७३ बलमा ४७ रनमा आउट भएका थिए । शंकर राना २७ तथा रशिद खान १४ रनमा आउट भएका थिए ।
४३.५ ओभरमा २ सय ५० रन बनाएको पुलिसले सहजै ३ सय रन पार गर्ने अनुमान गरिए पनि पछिल्ला क्रमका ब्याटरले खास रन बनाउन सकेनन् । पुलिसले पछिल्लो ५ ओभरमा ५ विकेट गुमाउँदै मात्र २६ रन जोड्न सक्यो ।
मधेशका लागि अन्तिम ओभरमा २ सहित रुपेश सिंहले ४ विकेट लिए । विशाल पटेलले ३, कमल गुप्ताले २ तथा रञ्जित कुमारले १ विकेट लिए ।
जितसँगै पुलिस खेलेको सबै ४ खेलमा नै अपराजित रहँदै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । पराजित मधेशको ३ खेलमा २ अंक रहेको छ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । सिङ्गल राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।
