युगाण्डामा जारि चार देशीय महिला टी-२० सिरिज अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज नामिबियाको सामना गर्दैछ ।
नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ देखि सुरु हुनेछ । प्रतियोगितामा यी दुवै टिम दोस्रो जितको खोजीमा छ ।
नेपालले नामिबियाविरुद्ध हार बेहोर्दै प्रतियोगिताको सुरुवात गरेको थियो । दोस्रो खेलमा आयोजक युगाण्डालाई एक विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले स्तब्ध भयो ।
फाइनल सम्भावना कायम राख्न नेपाल र नामिबियाका लागि आजको खेल महत्वपूर्ण छ । नेपालसामु आज नामिबियाविरुद्ध हारको बदला लिने मौका छ ।
पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल ९२ रनमै अलआउट भएको थियो । बलियो लक्ष्य दिन चुकेको नेपालले नामिबियाविरुद्ध ६ विकेटको हार बेहोर्यो । नेपाल आज उक्त हारको बदला लिँदै फाइनल सम्भावना कायमै राख्न चाहन्छ ।
नामिबियासँग नेपाली महिला टिमको यो दोस्रो भेट हो । जारी प्रतियोगितामा ब्याटिङमा सबै टिमले संघर्ष गरिरहेका छन् ।
आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं र नामिबिया १७औं स्थानमा छन् ।
नेपाली महिला टोलीले पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ । सिरिजमा घरेलु टोली युगाण्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ ।
सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबिच फाइनल हुनेछ ।
नेपालले यस प्रतियोगितालाई सन् २०२६ मा हुने महिला टी–२० विश्वकप क्रिकेट छनोटको तयारीका रूपमा लिएको छ। विश्वकपको एसिया क्षेत्र छनोट आगामी मे मा हुनेछ ।
नेपालको टोली:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी, ईश्वरी विष्ट ।
नेपालको खेल तालिका
फागुन २९ गते (मार्च १३) – युगान्डासँग
फागुन ३० गते (मार्च १४) – हङकङसँग
