एपिएफले कर्णालीलाई हरायो

२०८१, २ चैत्र आईतवार १६:३१

विभागी टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताम कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

एपीएफका लागि दिपक बोहोराले सर्वाधिक ७० रनको अविजित पारी खेले । उनले ६७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे ।

यसैगरी सुमित महर्जनले अविजित ३४, आसिफ शेखले २५ तथा लोकेश बम र कप्तान रोहितकुमार पौडेलले समान २२ रन बनाए । छैटौं विकेटका लागि दीपक र सुमितले अविजित १०७ रनको साझेदारी गरे ।

कर्णालीका लागि कप्तान दिवान पुन र दिपेन्द्र रावतले समान २ तथा प्रकाश जैसीले १ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा १ सय ८९ रनमा अलआउट भएको थियो

कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए । दिनेश अधिकारीले ३३ रन जोड्दा दिपेन्द्र रावत ३‍० रनमा अविजित रहे । प्रकाश जैसीले २० तथा दिवान पुनले १२ र अर्जुन घर्तीले १० रन बनाए ।

एपिएफका लागि अभिषेक गौतमले ४, कमलसिंह ऐरीले २ तथा किशोर महतो, दिपक बोहोरा, कप्तान रोहित र भुवन कार्कीले समान १ विकेट लिए ।

एपिएफ चौथो खेलमा ३ जितका साथ तेस्रो स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा चौथो हारका साथ २ अंकमा रहेको छ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । सिङ्गल राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *