सन् २००८ मा इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएयता अधिकांश टिमका कप्तान विदेशी खेलाडी रहे । २००८ मा ‘आइकन’ खेलाडीको सुरुवात भएको थियो । जसमा भारतीय खेलाडी हुन्थे । त्यो प्रथा पनि विस्तारै अन्त्य भयो ।

पछिल्लो केही वर्षदेखि विदेशी कप्तानबाट फ्रेन्चाइजहरूको मोह भंग भयो । र, आईपीएलको १८औं संस्करणसम्म आइपुग्दा परिस्थिति पूर्णरूपले फेरिएको छ ।

आईपीएलको १८औं संस्करण सुरु हुन अब धेरै दिन बाँकी छैन । सबै टिम आगामी संस्करणका लागि कम्मर कस्सेर बसिरहेका छन् । आईपीएल-२०२५ आगामी २२ मार्चदेखि सुरू हुँदैछ ।

आईपीएलको यो सिजनमा कूल पाँच टिम नयाँ कप्तानका साथ मैदानमा उत्रिनेछन् । सबै १० टिमका कप्तान तय भइसकेका छन् । दिल्ली क्यापिटल्सले पछिल्लो शुक्रबार स्पिन अलराउन्डर अक्षर पटेललाई टिमको नेतृत्व गर्ने जिम्मेवारी तोक्यो । योसँगै आईपीएलमा सहभागी हुने सबै दश टिमका कप्तान पक्का भए । दश टिममध्ये ९ भारतीय छन् ।

एकमात्र विदेशी कप्तान हुने आईपीएल २०२५ पहिलो संस्करण हुनेछ । हैदराबादले अस्ट्रेलियाका पैट कमिन्सलाई कप्तान बनाएको छ । बाँकी सबै ९ टिमका कप्तान भारतीय हुनेछन् ।

दिल्ली क्यापिटल्स, लखनऊ सुपर जायन्ट्स, पञ्चाब किंग्स, रोयल च्यालेन्जर्स बैंगलुरूरु र कोलकत्ता नाइट राइडर्स नयाँ कप्तानका साथ मैदानमा उत्रिनेछन् ।

दिल्लीले अक्षर पटेल, लखनऊलले ऋषभ पन्त, पञ्जाबले श्रेयस अय्यर, बेंगलुरूले रजत पाटीदार र कोलकत्ताले अजिंक्य रहाणेलाई कप्तान बनाएको छ ।

राजस्थान रोयल्सले सञ्जु सैमसन, मुम्बई इण्डियन्स्ले हार्दिक पाण्ड्या, गुजरात टाइटन्सले शुभमन गिल र चेन्नई सुपर किंग्सले ऋतुराज गायकवाडलाई कप्तान बनाएको छ । यी सबै यसअघि पनि यही टिमका नेतृत्व सम्हालिसकेका छन् । त्यस्तै एकमात्र विदेशी कप्तान रहेका कमिन्सले पनि यसअघि हैदराबादको नेतृत्व सम्हालेका थिए ।

१८औं संस्करणको आरम्भ

आईपीएल २०२५ अर्थात् १८ औं संस्करणको सुरूवात २२ मार्चदेखि हुनेछ । यसपालि भारतको १३ सहरमा आईपीएलअन्तर्गतका खेलहरू हुनेछन् । आईपीएल २०२५ को पहिलो म्याच कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरूबीच हुनेछ । आईपीएलको पहिलो खेल भारतीय समयअनुसार राति ७ : ३० बजे सुरू हुनेछ ।

यसरी हुनेछ उद्घाटन

आईपीएल २०२५ को उद्घाटन खेल कोलकत्ताको ईडन गार्डन स्टेडियममा हुनेछ । उद्घाटन सत्रमा बलिवुडका चर्चित कलाकारहरूले प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । यद्यपि प्रदर्शन गर्ने कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

आईपीएल २०२५ को उद्घाटन कार्यक्रम २२ मार्च साँझ ६ बजे सुरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *