युगान्डामा जारी चार देशीय महिला टी-२० सिरिजअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा हङकङविरुद्ध नेपालले टस हारेको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।
हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिसकेको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ ।
नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।
शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।
