स्पिनर ललित राजवंशीले लगातार तेस्रो खेलमा तथा समग्रमा चौथो पटक ५ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैठौं जित हासिल गरेको छ ।

बुधवार साविक विजेता पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । गण्डकीले दिएको ९३ रनको सामन्री लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा ६ छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी अर्जुज साउद १८ र दिलिप नथा १० रनमा अविजित रहे । तेस्रो विकेटका लागि दीपेन्द्र र अर्जुनले ६५ रनको साझेदारी गरे । 

गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान १ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रनमा अल आउट भएको थियो ।

गण्डकीका लागि अर्जुन कुमालले ६३ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरे । यसैगरी रोहित चन्द र सुवास भण्डारीले समान १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका ललित राजवंशीले ५.२ ओभरमा ७ रन दिएर ५ विकेट लिए । उनले प्रतियोगितामा चौथो पटक ५ विकेट लिएका हुन् । उनले ६ खेलमा कुल २६ विकेट लिइसकेका छन् ।

यसअघि ललितले एपिएफविरुद्ध ६, मधेशविरुद्ध ५ तथा सुदूरपश्चिमविरुद्ध ६ विकेट लिएका थिए । यसैगरी गुल्शनकुमार झाको नाममा चार विकेट रह्यो । 

पुलिस खेलेको सबै ६ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा यथावत छ । गण्डकीको समान खेलमा २ अंकमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *