नेपालमा पहिलोपटक क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिएको छ । यो लाइट रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ७ करोड लागतमा जडान गरिएको हो ।
अष्ट्रेलिया बस्ने गुल्मीका विनोद कुँवरले निजी लगानीमा निर्माण गरेको रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको हाे ।
प्रबन्ध निर्देशक विनोद कुँवरका अनुसार ५ वटा फ्लड लाइट जडान पछि, अब रातको समयमा पनि क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने बताएका छन् ।
२०८० साल जेठ २९ गते शिलान्यास भई २०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । यसको परीक्षण तत्काल सकिए अब केही समयमै यहाँ हुने प्रधानमन्त्री कप छनौट प्रतियोगिता पनि रातको समयमा खेलाउन सकिने कुँवरले बताए ।
नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक सूर्य कुँवरले बताए । चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स , चेञ्जिङ रुम र मिडिया बक्स निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । २५ हजार दर्शक क्षमताको प्यारापिटसहित करिब ५० करोड लागतको परियोजनाको ५० प्रतिशत बढी वित्तीय प्रगति भइसकेको कुवरले बताए ।
५ वर्षमा पूरा गर्ने लक्ष्य रहेकोमा अब २ वर्षभित्र सबै काम सम्पन्न हुने उनले बताए । यो मैदानमा गत वर्षको फागुनयता एक सयभन्दा बढी खेल भैसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । भारतबाट पनि केही क्लब स्तरीय टीम आएर खेलेको उनले बताए । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भैरहेको उनले बताए ।
‘मैदानका साथसाथै अरू भौतिक संरचना निर्माणको काम पनि अघि बढिरहेको छ। चार–चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स चेजिङ रुम र मिडिया बक्ससहित बनाइरहेका छौं । अहिले तेस्रो तलाको काम भैरहेको छ तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा हामी छौं,’ उनले भने, ’यसपछि हामी प्याराफिट निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने छौं ।’
कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका– १७ मा निर्माणाधीन एक्ट्राटेक ओभल निजी क्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो ।
