पोखरा । नेपाल हाप्किडो संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ ।
शनिबार पोखरामा सम्पन्न साभारण सभामा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना, नीतिगत निर्णय तथा महत्वपूर्ण प्रस्तावहरूमा छलफल भएको थियो। साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै उनले खेलकुद राष्ट्रको समृद्धि र श्रमशक्तिको विकासमा महत्वपूर्ण साधन भएको बताएका थिए । हामी नेपाललाई खेलाडीहरूको राष्ट्रका रूपमा चिनाउन चाहन्छौं । खेलकुदले श्रमशक्तिलाई जोड्दै स्वस्थ नागरिक र दक्ष जनशक्ति निर्माण गर्छ, जसले समृद्धिको यात्रा अघि बढाउँछ उनले भने ।
उनले खेलकुद सामाजिक सद्भाव, पर्यटन र संस्कृतिको विकासका लागि अपरिहार्य रहेको बन्दै खेलकुद व्यवस्थापनमा राजनीति आवश्यक भएको बताए। खेलकुदको मैदानमा राजनीति हुनुहुँदैन, तर यसको व्यवस्थापनका लागि राजनीतिक इच्छाशक्ति अनिवार्य छ । खेलकुदको विकास र खेलाडीहरूको हितमा राजनीति सहायक हुनुपर्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका एक दर्जनभन्दा बढी खेलाडीहरू सम्मानित भएका थिए । साथै, नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रमको स्मारिका विमोचन पनि गरिएको थियो ।
नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले नेपालका ६६ जिल्लामा हाप्किडो सक्रिय रहेको जानकारी गराउँदै हजारौं खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराइरहेको बताए । अध्यक्ष घर्ती मगरले हाप्किडो खेलको व्यवस्थित विकासका लागि वार्षिक योजना प्रस्तुत गर्दै योजनाबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा मगर, गण्डकी प्रदेश हाप्किडो संघका अध्यक्ष खेमबहादुर गुरुङ, नेपाल हाप्किडो संघका उपमहासचिव मोहमद हलवाई, कोषाध्यक्ष विजया कुमारी वाईबा, प्रमुख प्रशिक्षक प्रविण गुरुङ लगायतले आफ्ना धारणा राखेका थिए ।
नेपाल हाप्किडो संघले नेपालका विभिन्न स्थानमा हाप्किडो खेललाई प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन र खेल पुर्वाधार संरचनाको विकास गर्ने लक्ष्य राखेको जनाएको छ ।
