सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ ।

हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको हो ।

२ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो । टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए ।

जुरेलले ३५ बलमा ५ चौका र ६ छक्काको साथमा सर्वाधिक ७० रन जोडे । साम्सनले ३७ बलमा ७ चौका र ४ छक्कासहित ६६ रन बनाए । हैदरवादका सिमरहित सिंह र हर्षल पटेलले समान २ विकेट लिए ।

त्यसअघि राजस्थानले टस जितेर हैदरावादलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो ।

इशान किसनको आक्रमक शतकीय इनिङसँगै हैदरावादले ६ विकेटको नोक्सानीमा २ सय ८६ रन बनाएको थियो । इशानले नटआउट १ सय ६ रन बनाएपछि टोली विशाल योगफल तयार पारेको छ ।

आइपिएल इतिहासमा यो दोस्रो ठूलो योगफल हो । अघिल्लो सिजनमा हैदरावादले नै २ सय ८७ रनको कीर्तिमान बनाएको थियो ।

४५ बलमा शतक पूरा गरेका किसनले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । ओपनर ट्राभिस हेडले पनि आक्रमक खेल्दै अर्धशतक बनाए । हेडले ३१ बलमा ९ चौका र ३ छक्कासहित ६७रन बनाए ।

अर्को ओपनर अभिषेक शर्माले २४, नितिशकुमार रेड्डीले ३०, हेन्रिच क्लासनले ३४ रन बनाए । राजस्थानका तुषार देश पाण्डेले ३, महेश थिकसनाले २ र सन्दीप शर्माले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *