त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौं जित निकालेको छ ।

विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । एपिएले दिएको १४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

आर्मीका लागि कुशल मल्लले अविजित ३१, विवेक यादवले २६, सोमपाल कामीले अविजित २२, बसिर अहमदले १३ र इम्रान शेखले ११ रन बनाए । सातौं विकेटका लागि कुशल र सोमपालले अविजित ५८ रनको साझेदारी गरे ।

एपिएफका लागि कप्तान रोहित पौडेल, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले समान २ तथा किशोर महतोले १ विकेट लिए ।

त्यसअघि भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १४१ रनमा अल आउट भयो ।

एपिएफका लागि सन्दीप जोराले ९१ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी अमरसिंह रौटेला, भुवन कार्की र किशोर महतोले समान ११ रन बनाए ।

आर्मीका लागि आकाश चन्दले ४, सोमपाल कामीले ३, शाहब आलमले २ र बसिर अहमदले १ विकेट लिए ।

जितसँगै पाँच खेलमा स्पष्ट १० अंक जोडेको आर्मी अंक तालिकाको दोस्रो स्थानमा यथावत छ । पराजित एपिएफ ५ खेलमा ६ अंकका साथ अंक तालिकाको चौथो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *