लेबनानी खेलाडी अहमद हिजाजीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी धनगढीबाटै खेल्ने भएका छन् ।
धनगढीले हिजाजीलाई विदेशी खेलाडीका रूपमा क्लबले पुनः स्वागत गरेको हो । क्लबले सामाजिक सञ्जालमा पनि हिजाजीलाई पुनः टोलीमा फर्किएकाले ‘वेलकम ब्याक’ भनेर पोस्ट राखेको छ ।
हाल उनी बोर्ज एफसीबाट घरेलु लिग खेलिरहेका छन् । हिजाजीले एनएसएलको अघिल्लो संस्करणमा धनगढीबाट चार गोल गरेका थिए ।
धनगढी गत संस्करणको फाइनलमा ललितपुर सिटी एफसीसँग पराजित भएको थियो । उनले फाइनलमा धनगढीका लागि एक गोल गरेका थिए ।
यस संस्करणका लागि धनगढीले मार्की खेलाडीमा कृतिश रत्न छुन्जुलाई सार्वजनिक गरिसकेको छ भने अक्सन पनि सम्पन्न भइसकेको छ ।
