इटहरी । सुनसरीको इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताम लोहोरुङ फुटबल क्लब संखुवासभा फाइनलमा प्रवेश गरेको छ ।

सोमबार इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा दमक फुटबल एकेडेमी झापालाई सडन डेथमा पराजित गर्दै संखुवासभा उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा १–१ गोल बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट गरिएको थियो । सडन डेथमा संखुवासभा ७-६ ले विजयी भयो ।

निर्धारित समयको १६औं मिनेटमा किस्मत लिम्बूले गोल गर्दै दमकलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६७औं मिनेटमा संखुवासभाका दोर्जे तामाङले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

खेलको म्यान अफ दि म्याच संखुवासभाका कप्तान जिवन लोहरुङ घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेल केराबारी फुटबल क्लब मोरङ र सिंहदेवी फुटबल क्लब धनकुटाबीच हुनेछ ।

आयोजक द योङ ब्रदर्श क्लबको आयोजनामामा जारी प्रतियोगितामा कुल ८ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले नगद १ लाख ३० हजारमा रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *