इटहरी । सुनसरीको इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा लोहोरुङ फुटबल क्लब संखुवासभा सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङ, मोरङलाई १–० गोल अन्तरले स्तब्ध बनाउँँदै लोहोरुङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

लोहोरुङको जितमा सुनिल खड्काले निर्णायक गोल गरे । उनले खेलको ३१औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पनि खड्का नै घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

अब लोहोरुङले सेमिफाइनलमा दमक एकेडेमी फुटबल क्लबसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत आइतबार हुने चौथो क्वाटरफाइनल खेल गाइघाट फुटबल क्लब उदयपुर र सिंहदेवी फुटबल क्लब धनकुटाबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ । उपविजेता टोलीले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।
अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।
