इटहरी । १५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले उचालेको छ ।

शनिवार भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको हो ।

मच्छिन्द्रको जितमा दुई विदेशी खेलाडी मलिक युसुफ र ओमुलाजा नुरैन हरिमले गोल गरे ।

जितसँगै मच्छिन्द्रले नगद १० लाख सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सगरमाथाले नगद ५ लाखमा चित्त बुझायो । सगरमाथाले यसअघि लगातार दुई पटक प्रतियोगिताको उपाधि उचालेको थियो ।

सगरमाथाको ह्याट्रिक जित निकाल्ने लक्षलाई रोक्दै मच्छिन्द्र भने पहिलो पटक विजेता बनेको हो । सगरमाथाका अशोक खवास भने फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि सगरमाथाकै कुलदीप कार्की भए । उनले नगद १ लाख र ट्रफी हात पारे ।

उत्कृष्ट गोलरक्षक बनेका मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर मच्छिन्द्रकै सनिस श्रेष्ठ, उत्कृष्ट मिड फिल्डर मच्छिन्द्रकै विशाल तामाङ उत्कृष्ट फरवार्ड मलिक युसुफ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रकै सन्तोष न्यौपानेले जनही २० हजार र ट्रफी प्राप्त गरे ।

यसैगरी प्रतियोगिताभर चार गोल गरी सर्वाधिक गोलकर्ता बनेका मच्छिन्द्रका मलिक युसुफले नगद २५ हजार प्राप्त गर्दा राइजिङ प्लेयर सनिप घिमिरेले एक थान एलइडी टिभी प्राप्त गरे ।

गत फागुन ३ गतेबाट सुरु भएको प्रतियोगितामा आयोजक राष्ट्रिय जागृति क्लब सहित कुल ८ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *