आईसीसी विश्वकप लिग (डब्लुसीएल) २ अन्तर्गत घरेलु मैदानमा लगातार चार खेल जितेको ओमानको विजयी यात्रामा पूर्णविराम लागेको छ ।
सोमबार अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी ग्राउन्ड भएको खेलमा नामिबियाले घरेलु टोली ओमानमाथि २३ रनको रोमाञ्चक जित निकालेको हो ।
यो हारसँगै ओमानले पाँच खेलपछि पहिलो पराजय बेहोरेको छ । १३ खेलबाट १४ अंक जोडेको ओमानको अग्रता घट्दै गएको छ भने नामिबियाले १४ खेलबाट १२ अंक बनाउँदै ओमानलाई दबाब दिएको छ ।
नामिबियाले दिएको १७० रनको लक्ष्य पछ्याएको ओमानको सुरुवात राम्रो भएन । ओपनर आमिर कलीम (१५) प्रारम्भमै आउट भए । कप्तान जतिन्दर सिंह (२५) र आशिष ओडेदारा (११) पनि लामो साझेदारी बनाउन सकेनन् । वसिम अली खाता नखोल्दै आउट भएपछि ओमानको स्कोर ५८/४ को स्थितिमा पुग्यो ।
ओडीआई डेब्युटान्ट हाशिर दफेदार (१५) र अनुभवी सुफ्यान महमूद (११) लाई नामिबियाका गेरहार्ड इरास्मसले छिट्टै पेभिलियन फर्काए । नामिबियाको स्पिन आक्रमणका अगाडि ओमानको मध्यक्रम धराशायी बन्यो ।
विनायक शुक्ला (१७), हसनैन शाह (१६*) र शकील अहमद (१३) रन बनाए पनि टिम ३७.२ ओभरमै १४६ रनमा अलआउट हुँदै २३ रनले पराजित भयो ।
नामिबियाका स्पिनर बर्नार्ड स्कोल्ज (२/२६) र जान निकोल लोफ्टी-इटन (२/१८) ले उत्कृष्ट बलिङ गरे भने गेरहार्ड इरास्मस (२/४२) र रुबेन ट्रम्पलम्यान (२/३२) ले उनीहरूलाई राम्रो साथ दिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया सुरुवाती दबाबमा परेको थियो । स्लो पिचमा ओमानका स्पिनरहरू हावी भए । नामिबियाले पावरप्ले सकिँदासम्म २४ रन मात्र जोड्यो । जेन ग्रीन (२१) रनआउट भए भने जेपी कोट्जे (२९) ले डटेर ओमानी बलरको सामना गरे । कप्तान जेरहार्ड इरास्मस (०) पहिलो बलमै आउट भए । समय श्रीवास्तवले ४ विकेट लिए ।
मालान क्रुगरले ३९ रन बनाएर केही प्रभाव देखाए पनि जय ओडेदराले उनलाई आउट गरेपछि तल्लोक्रम धराशायी बन्यो । जान निकोल लोफ्टी-इटन (१२), जान-इजाक डे भिलियर्स (२), जे जे स्मिट (४) र रुबेन ट्रम्पलम्यान (१) सस्तोमा आउट भए । नामिबियाका ओडीआई डेब्युटान्ट जान बाल्टले ५० बलमा अविजित ३५ रन बनाएर टिमलाई १६९ सम्म पुर्याए ।
खेलको प्लेयर अफ दि म्याच नामिबिया मालान क्रुगर घोषित भए ।
