विराटनगरको जुटमिल मैदानमा यहि माघ २६ गतेदेखि युवाका लागि खुल्ला राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
फुटबलको सिप र दक्षता विकास एवं खेलभावना र सामुदायिक सौहार्दताका लागि नेपालका विभिन्न उत्कृष्ट टोलीबीच फुटबल संचालन गर्न लागिएको हो ।
फुटबल अवलोकन गर्नका लागि शुभचिन्तक र स्थानीय दर्शकको अपार माया रहने आयोजक राष्ट्रका लागि युवाका अध्यक्ष सक्रिय गौतमको विश्वास छ ।
प्रतियोगितामा कुल १२ टोली सहभागी हुनेछन् । प्रतियोगितामा शान्ति युवा क्लब, विराटनगर स्पोर्टिङ्ग एकेडेमी, ताल तलैया फुटबल, कोशी प्रदेश पुलिस क्लब, सेन्ट जोसेफ एकेडेमी, पञ्चायन फुटबल क्लब, जनपथ फुटबल एकेडेमी, तरहरा युनाईटेड फुटबल क्लब, बेलबारी फुटबल क्लब, मोर्डन एरा एकेडेमी, शृजन्सिल युवा क्लब र मिल्स ट्रेनिङ सेन्टर सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेतालाई नगद ५१ हजार तथा उपविजेतालाई २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १ हजार १ सय प्रदान गरिने छ ।
साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार १ सय, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सार्वधिक गोलकर्ताले जनही नगद १ हजार ५ सय प्राप्त गर्नेछन् ।
फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताले पूर्व क्षेत्रमा फुटबललाई स्थापित गराउने अध्यक्ष गौतमले बताए ।
