त्रिकोणात्मक महिला टी-२०आई सिरिजमा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो ।
यस जितसँगै थाइल्याण्डले यस शृंखलाको उपाधि जितेको छ । थाइल्याण्डले ६ मध्ये ५ खेलमा जित निकालेको थियो । एक खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । नेपाल भने सबै ६ खेलमा पराजित भयो ।
नेपालले दिएको ८३ रनको झिनो लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
थाइल्यान्डको जितमा कप्तान नरुएमोल चाइवाइले ३४ बलमा दुई चौकासहित सर्वाधिक २७ रन बनाइन् । त्यस्तै तेस्रो नम्बरका ब्याटर नन्नापाट कान्चोरोएनकाईले २३ रन जोड्दा ओपनर नटया बूचाथमले ११ रनको योगदान गरिन् ।
नेपालका लागि कप्तान इन्दु वर्माले २ तथा पूजा महतोले १ विकेट लिइन् ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र बनायो ।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् । कविता जोशीले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाइन् । कप्तान इन्दु बर्माले १० रनमा आउट हुँदा राजमती ऐरी ११ रनमा नट आउट रहिन् ।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ३, चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १ विकेट लिइन् ।
