महिला त्रिकोणात्मक टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई ८२ रनको सामन्य लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा शुकबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र बनायो ।

नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् । कविता जोशीले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाइन् । कप्तान इन्दु बर्माले १० रनमा आउट हुँदा राजमती ऐरी ११ रनमा नट आउट रहिन् ।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ३, चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १ विकेट लिइन् ।

नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् ।

यस खेलमा अलिशाकुमारी यादव र राजमती ऐरीले मौका पाएकी छिन् । राजमतीको राष्ट्रिय महिला टोलीबाट यो डेब्यु खेल हो ।

सिरिजकै अन्तिम खेलको रूपमा रहेको यस खेलपछि उपाधि विजेताको टुंगो लाग्नेछ । हालसम्म जितविहीन रहेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ ।

थाइल्याण्ड र नेदरल्याण्ड्स समान ४-४ जितसहित उपाधि होडमा छन् । यदि यो खेलमा थाइल्याण्डले नेपाललाई हराएमा थाइल्याण्डले उपाधि जित्नेछ ।

नेपाल थाइल्याण्डलाई हराउँदै सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ । फराकिलो जित निकालेमा नेदरल्याण्ड्सको पनि उपाधि जित्ने सम्भावना रहन्छ ।

फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम सिरिज विजेता बन्ने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *