स्पेनिस ला लिगामा बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राती भएको खेलमा लास पाल्मसलाई २-० गोलले हराउँदै बार्सिलोना पुन: तालिकाको शीर्ष स्थानको उक्लिएको हो ।
लास पाल्मसको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन डानी ओल्मो र फेरान टोरेसले गोल गरे ।बार्सिलोनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको ६२औं मिनेटमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाएका हुन् ।
जितसँगै शीर्ष स्थानमा पुगेको बार्सिलोनाको २५ खेलबाट ५४ अंक भएको छ । पराजित लास पाल्मस भने समान खेलबाट २३ अंकका साथ लिगको १७औं स्थानमा छ ।
२५ खेलबाट ५३ अंक जोडेको एट्लिटिको मड्रिड दोस्रो स्थानमा छ । रियल मड्रिड भने २४ खेलमा ५१ अंकका साथ तेस्रो स्थानमा छ । रियलको २५औं खेल आइतवार जिरोनासँग रहेको छ ।
