फेरान टोरेसको ह्याट्रिक मद्दतमा बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ ।

विहिवार राति भएको क्वाटरफाइनल खेलमा भ्यालेन्सियालाई ५–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा पुगेको हो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन टोरेसको ह्याट्रिकसँगै फेर्मिन लोपेज र लामिन यामलले समान १ गोल थपे ।

खेलको तेस्रो मिनेटमै टोरेसको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । १७औं मिनेटमा टोरेसले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

लोपेजले खेलको २३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । त्यसपछि ३०औं मिनेटमा टोरेसले ह्याट्रिक पूरा गरेपछि बार्सिलोना पहिलो हाफमा ४–० ले अघि रह्यो ।

यामलले ५९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५-० को सहज जित दिलाए ।

त्यस्तै अर्को क्वाटरफाइनल खेलमा रियल सोसियडाडले ओसासुनालाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । यसअघि रियाल मड्रिड र एटलेटिको मड्रिड सेमिफाइनलमा पुगिसकेका छन् ।

अब सेमिफाइनलको ड्र १२ फेब्रुअरीमा हुनेछ । त्यस्तै सेमिफाइनलका पहिलो लेग २५ र २७ फेब्रुअरीमा हुनेछन् भने दोस्रो लेग अप्रिल १ र ३ मा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *