फियोरेन्टिनासँग इटालियन सिरी ‘ए’ मा इन्टर मिलान स्तब्ध भएको छ । बिहिवार राती भएको खेलमा इन्टर मिलान फियोरेन्टिनासँग ३-० गोलले पराजित भएको हो ।
बिहीबा राति फियोरेन्टिनाको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन मौयस किनले २ तथा लुका रानिरीले १ गोल गरे ।
फियोरेन्टिनाले तीनै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५९औं मिनेटमा रानिरीको गोलमा फियोरेन्टिनाले अग्रता बनाएको थियो । ६८औँ मिनेटमा किनले टोलीको अग्रता दोब्बर पारे ।
यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा किनले ब्यक्तिगत दोस्रो गोल गरेपछि फियोरेन्टिना ३–० ले बिजयी भयो ।
यी दुई टिमबीचको खेल १७औँ मिनेटदेखि सुरु भएको थियो । यसअघि गत डिसेम्बरमा फियोरेन्टिनाका एडोर्डो बोभ मैदानमै ढलेपछि यो खेल स्थगित बनेको थियो । सोही कारण गए राति खेलको सुरुआत १७औं मिनेटबाट भएको हो ।
जितसँगै २३ खेलबाट ४२ अंक जोडेको फियोरेन्टिना तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ५१ अंक जोडेको इन्टर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा आसिन नापोलीले २३ खेलबाट ५४ अंक छ ।
