अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पाकिस्तान फुटबल महासंघ (पिएफएफ) लाई नियमावली परिमार्जन नगरेको भन्दै निलम्बन गरेको छ ।

फिफाले पाकिस्तान फुटबलको उचित प्रशासन तथा पारदर्शिता कायम राख्न महासंघको विधान संशोधन गर्न निर्देशन दिएको थियो, जुन पूरा हुन नसकेपछि निलम्बनको निर्णय गरिएको हो ।

सन् २०१९ देखि पाकिस्तान फुटबल महासंघ फिफाद्वारा नियुक्त ‘नर्मलाइजेसन कमिटी’ को नियन्त्रणमा छ । यस कमिटीलाई महासंघको निर्वाचन गराउने र आन्तरिक विवाद समाधान गर्ने जिम्मेवारी दिइएको थियो । तर, लामो समयसम्म अपेक्षित सुधार नआएपछि फिफाले कडा कदम चालेको हो ।

पछिल्ला पाँच वर्षमा नर्मलाइजेसन कमिटीको नेतृत्व पटक-पटक परिवर्तन भए पनि पाकिस्तान फुटबलको समस्या जस्ताको तस्तै रहेको छ । कमिटी र राज्य-नियन्त्रित पाकिस्तान स्पोर्ट्स बोर्डबीचको विवाद मुख्य कारणका रूपमा देखिएको छ, जसले सुधारको प्रक्रिया अवरुद्ध गरिरहेको छ ।

यसै सन्दर्भमा, पाकिस्तान फुटबल महासंघका नर्मलाइजेसन कमिटीका अध्यक्ष हारुन मलिक ले गत साता संसदीय समितिमा फिफाको निर्देशन पालना नगरेमा पाकिस्तानलाई प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका थिए । तर, महासंघको कंग्रेसले फिफाको निर्देशन अस्वीकार गरेपछि निलम्बनको घोषणा गरिएको हो ।

यो निर्णयसँगै पाकिस्तान फुटबल महासंघलाई २०१७ यता तेस्रो पटक फिफाले निलम्बन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *