धरानमा सोमबारदेखि ‘कोशी प्रभिन्स प्रिमियर लिग-२०८१’ फुटबल प्रतियोगिता सुरु भएको छ ।
धरान रंगशालामा सुरु भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशील युवा क्लब विजयी सुरुवात गरेका छन् ।
पहिलो खेलमा गाईघाट फुटबल क्लबले भाेजपुरको लाइबेरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ । गाईघाटको जितको लागि प्रवीण राईले दुई गोल गरेका थिए भने प्रितम चौधरीले एक गोल थपेका थिए । खेलको म्यान अफ द म्याच घोषित हुँदै प्रवीण राईले नगद पाँच हजारसहित ट्रफी हात पारे ।
यस्तै, आजै भएको दोस्रो खेलमा ताप्लेजुङको प्रगतिशील युवा क्लबले सुनसरीको धरान फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । प्रगतिशीलको जितका लागि सबिन तामाङ र अनुप सेन्दोङले गोल गरेका थिए भने धरान फुटबल क्लबका सबिन राईले एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच प्रगतिशील युवा क्लबका सबिन तामाङ घोषित हुँदै नगद पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा ८ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियनहरूको सहभागिता रहेको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए ।
प्रतियोगिताबाट २ वटा पहिलो र दोस्रो हुने लिग विजेता क्लब अन्तर प्रादेशिक लिग फुटबलकालागि छनौट हुनेछन् ।
प्रतियोगिताको ४ समूहमा समूह ‘ए’ लोहरुङ फुटबल क्लब सङ्खुवासभा र पाँचथर युनाइटेड फुटबल क्लब पाँचथर छन् । समूह ‘बी’ मा गाईघाट फुटबल क्लब उदयपुर, लैबरी फुटबल क्लब भोजपुर, सम्राट स्पोर्टिङ फुटबल क्लब मोरङ छन् ।
समूह ‘सी’ मा देउराली युवा क्लब धनकुटा, धाइजन चारआली फुटबल क्लब झापा, रेडहर्स फुटबल क्लब इलाम छन् । समूह ‘डी’ मा धरान फुटबल क्लब सुनसरी, प्रगतिशील युवा क्लब ताप्लेजुङ, बुईपा ११ फुटबल क्लब खोटाङ रहेका छन् ।
प्रिमियर लिगको सुपर ४ का लागि प्रथम पुरस्कार २ लाख रुपैयाँ रहेको छ । दोस्रो पुरस्कार १ लाख ५० हजार, तेस्रो १ लाख २५ हजार, चौथो पुरस्कार १ लाख रुपैयाँ रहेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने छ । यस्तै उत्कृष्ट गोलरक्षक, डेफेन्डर, मिडफिल्डर, फरवार्डले जनही १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
