घरेलु टोली भारतले इंग्ल्याण्डसँँगको तीन एकदिवसीय खेलको सिरिजमा क्लिनस्विप गरेको छ ।
भारतले तेस्रो तथा अन्तिम खेलमा इंग्ल्याण्डलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै सिरिज क्लिनस्विप गरेको हो ।
भारतले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३४.२ ओभरमै २१४ रनमा अलआउट भयो ।
इंग्ल्याण्डका लागि टम बेनटन र गुस एटिकसन दुवैले समान ३८ रनको पारि खेल्दा बेन डकेटले ३४ रन जोडे । यसैगरी फिल साल्टले २३ रन बनाउँदा जोए रुटले २४ रन जोडेका थिए ।
भारतका लागि हर्षित राणा, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदीप सिंहले समान २ विकेट लिए ।
त्यसअघि अहमदाबादस्थित नरेंद्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३५६ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि ओपनर शुभमन गिलले शतक प्रहार गरे । उनले १०२ बलमा ११२ रन बनाएका थिए । यसैगरी श्रेयस अय्यरले ७८ रन बनाउँदा विराट कोहलीले ५२ रनको पारि खेले । त्यस्तै, केएल राहुलले ४० रन जोड्दा हार्दिक पाण्ड्याले १७ रन बनाए ।
इंग्ल्याण्डका लागि आदिल रसिदले ४ विकेट लिँदा मार्क वुडले २ विकेट हात पारे । खेलको प्लेयर अफ दि म्याच भारतका शुभमन गिल घोषित भए ।
यसअघि भारत पहिलो खेल र दोसो खेलमा समान ४ विकेटले विजयी भएको थियो । इंग्ल्याण्डसँगको पाँच टि-२० आई सिरिज घरेलु टोली भारतले ४-१ ले जितेको थियो ।
