इंग्लिस प्रिमियर लिगको क्लब चेल्सीबाट लोनमा फरवार्ड जोआओ फेलिक्स एसी मिलान पुगेका हुन् ।
एसी मिलानले २५ वर्षीय पोर्चुगिज फरवार्ड फेलिक्सलाई यो सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्ध गरेको हो । त्यसबापत एसी मिलानले चेल्सीलाई ५ मिलियन पाउन्ड शुल्क तिर्नेछ ।
एसी मिलान पुगेका फेलिक्सले टिमसँग अभ्यास पनि सुरु गरिसकेका छन् । फेलिक्सले एसी मिलानमा ७९ नम्बरको जर्सी लगाउनेछन् । यसअघि फेलिक्सले एट्लेटिको मड्रिडमा अनुबन्ध हुनुअघि बेन्फिकाबाट खेल्दा पनि ७९ नम्बरकै जर्सी लगाएका थिए ।
फेलिक्स गत सिजन स्पेनिस क्लब एटलेटिको मड्रिडबाट ४ करोड ५० लाख पाउन्डमा चेल्सी भित्रिएका थिए । फेलिक्सले चेल्सीका लागि २० खेलमा ७ गोल गरेका छन् ।
