स्पेनिस र विश्व फुटबललाई हल्लाउने चुम्बन घटनाको ५ सय ५० दिनपछि स्पेन फुटबल महासंघ (आरइइएफ) का पूर्व अध्यक्ष लुइस रुबियालेसलाई यौन दुर्व्यवहारको दोषी ठहर गरिएको छ ।

स्पेनको उच्च अदालतले बिहीवार पूर्व अध्यक्ष रुबियालेसले सन् २०२३ को अगस्टमा महिला विश्वकप जितेपछि पदक वितरण समारोहको क्रममा खेलाडी जेन्नी हर्मोसोको सहमति बिना चुम्बन गरेको ठहर गरेको हो । इङ्ग्ल्याण्डलाई हराउँदै स्पेनले महिला फुटबल विश्व कपको उपाधि जितेको थियो ।

रुबियालेसले चुम्बन आपसी सहमतिमा भएको दाबी गर्दै आएका थिए । तर उनलाई १० हजार ८ सय युरो जरिवाना सहित हर्मोसोबाट २ सय मिटर टाढा बस्नु पर्ने र एक वर्षसम्म सम्पर्क गर्न नपाउने गरि प्रतिबन्ध लगाउने निर्णय अदालतले सुनाएको छ ।

रुबियालेसले यो फैसला विरुद्ध पुनरावेदन गर्ने बताएका छन् । अदालतका अनुसार अभियोजन पक्षले उनलाई दुई वर्ष ६ महिनाको जेल सजायको माग गरेका थियो । एक वर्ष चुम्बनका लागि र १८ महिना दबाबका लागि । तर अदालतले उनलाई जेल सजाय भने सुनाएन ।

अदालतले पदक वितरण समारोहमा उनी बढी उत्साहित भएको र आफ्नो पदअनुसार व्यवहार गर्न नसकेको भन्दै यसलाई अपराध होइन भन्न नमिल्ने तर्क राखेको छ ।

यो महिनाको सुरुवातमा दिएको बयानमा हर्मोसोले सो घटना आफ्नो जीवनकै खुसी दिनलाई दाग लगाउने दिन भएको बताएकी थिइन् ।

स्पेनकी कप्तान इरेने पारेडेस हर्मोसोको पक्षमा साक्षी बनेकी थिइन् । उनले अदालतको फैसलालाई सम्मान गर्ने बताए पनि दबाब दिने अभियोगबाट सफाइ दिइएकोमा अचम्म लागेको प्रतिक्रिया दिएकी छिन् ।

इल्यान्ड र चेल्सीकी डिफेन्डर लुसी ब्रोनजले हर्मोसो र उनका टोलीका खेलाडीहरूको साहसको प्रशंसा गरिन् । रुबियालेसले महिला फुटबलकी एक ठूली स्टारलाई चुम्बन गरेको घटना र त्यसपछि भएको असर वर्षोंदेखि फुटबल संघभित्र रहेको असन्तुष्टिको चरम रूपमा समेत लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *