आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा शीर्ष स्थानको अमेरिका ओमानसँग पराजित भएको छ ।
बुधवार भएको खेलमा अमेरिका ओमानसँग ७ विकेटले पराजित भएको हो । जितका लागि अमेरिकाले दिएको १ सय ५२ रनको सामान्य लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
ओमानको जितमा कप्तान जतिन्दर सिंहले अविजित रहँदै सर्वाधिक ८२ रनको योगदान गरे । अमिर कलिमले २८, वासिम अलिले १८ तथा हमिद मिर्जाले १२ रन जोडे ।अमेरिकाका लागि हर्मित सिंह २ तथा मिलान्ड कुमारले १ विकेट लिए ।
त्यसअघि ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले ४२.१ ओभरमा सवै विकेट गुमाउँदै १ सय ५१ रनको योगफल तयार पारेको थियो ।
अमेरिकाका लागि साइतेजा मुककामल्लाले सर्वाधिक ८० रन जोडे । आरोन जोन्स र मिलान्ड कुमारले समान १५ रन बनाउँदा आन्द्रेस गौसले १३ रन जोडेका थिए । अमेरिकालाई सस्तैमा समेट्न शकील अहमदले सार्वधिक ४ विकेट लिए । यस्तै जय ओडेढ्राले ३, समय श्रीवास्तवले २ र वसिम अलीले १ विकेट लिए ।
८ टोली सहभागी लिगमा अमेरिका हारका बाबजुद १४ खेलमा १८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान समान खेलमा १६ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
