विराटनगर । सुनसरी जिल्लाले कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।
प्रदेश खेलकुद विकास बोर्ड (कोशी प्रदेश) को संयोजन तथा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनमा शनिबार र आइतबार भएको प्रतिस्पर्धामा ९ स्वर्ण, २ रजत र २ कांस्यसहित कुल १३ पदक जित्दै सुनसरी पहिलो भएको हो ।
यस्तै, ६ स्वर्ण, ३ रजत र ५ कांस्यसहित कुल १४ पदक जितेको मोरङ दोस्रो भयो । ४ स्वर्ण, ५ रजत र ६ कांस्यसहित कुल १५ पदक जितेको झापा तेस्रो भयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ मोरङका मन्जित राजवंशी र महिलातर्फ सुनसरीकी एलिजा राई घोषित भइन् । दुवै जनाले ट्रफी र मेडल पाए । प्रतियोगिताका विजेता खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
शनिबारबाट विराटनगर-९ स्थित पुरानो गुद्रीमा सुरु भएको प्रतियोगिता कोशी प्रदेशका ९ जिल्लाका १३५ जना खेलाडीहरूको सहभागिता थियो । प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए ।
उद्घाटन तथा समारोहको सभा अध्यक्ष नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघका अध्यक्ष तथा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष प्रविणकुमार कार्कीले गरेका थिए ।
