धरानमा जारी कोशी प्रदेश प्रिमियर लिगअन्तर्गत सुपर लिगमा धनकुटाको देउराली यूथ क्लब र उदयपुरको गाईघाट फुटबल क्लब बिजयी भएका छन् ।
मङ्गलवार धरान रंगशालामा भएको दिनको पहिलो खेलमा देउरालीले पाँचथर युनाइटेडलाई ७-० ले पराजित गरेको छ ।
जितसँगै २ खेलबाट ४ अंक जोडेको देउराली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित पाँचथर युनाइटेड २ खेलबाट १ अंंकका साथ तालिकाको पुछारमा छ ।
देउरालीकालागी समीर लिम्बूले ह्याट्रिक गरे भने दिपेन शाक्यले २ गोल तथा विरेन लिम्बू र ज्ञानेन्द्र भण्डारीले एक एक गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भएका समीर लिम्बूले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
मङ्गलवार नै भएको अर्को खेलमा उदयपुरको गाईघाट फुटबल क्लबले खोटाङको बुइपा-११ लाई २-० ले पराजित गरेको छ ।
जितसँगै गाईघाटले २ खेलबाट ४ अंक जोडेको छ । देउरालीसँग समान अंक भए पनि गोलअन्तरका आधारमा गाईघाट दोस्रो स्थानमा रहेको हो । पराजित बुइपा भने २ खेलबाट १ अंकका तेस्रो स्थानमा छ ।
गाईघाटकालागी प्रविन राईले दुवै गोल गरे । उनले पहिलो हाफको अन्तिम दुई मिनेटमा दुई गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच समेत घोषित भएका प्रविन राईलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
लिगमा बिहीबार पाँचथर र गाईघाट तथा देउराली र बुइपाबिच खेल हुनेछ भने उक्त खेलले लिगको विजेता उपविजेताको टुंगो समेत लाग्नेछ ।
प्रतियोगितामा ११ जिल्लाका लिग च्याम्पियन क्लबहरूबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
