राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा संघले फागुन ११ गते अर्थात् आइतबारदेखि १९ गतेसम्म आयोजना हुन लागेको प्रतियोगिताको तयारी सम्पन्न भएको जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालका ६ वटा ‘ए डिभिजन’, दुई विदेशी तथा एक आयोजक गरी नौ टोलीले सहभागीता जनाउने छन् । जसमा, एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपीएफसी, न्युरोड टिम, मच्छिन्द्र एफसी, एफसी ट्रान्सपोर्ट युनाइटेड क्लव रहेका छन् ।
प्रतियोगिताको क्वार्टरफाइनल सम्मका खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदान तथा सेमिफाइल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।
तेस्रो संस्करणमा पुरस्कार रकम बृद्धि भएको छ । यस पटक विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् । गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ । त्यस्तै, हरेक खेल विजेता टिमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।
युवा उमेरका खेलाडीहरुका माझ खेलकुदको प्रवद्र्धन र विकासका लागि चासो जगाउन, आर्थिक सशक्तिकरण गर्न, समाजिक विविधतालाई एकताको सुत्रमा बाँध, युवालाई विदेश पलायन रोक्न, युवालाई खेलकुदमा जोड्न, खेलाडीहरुको सीप विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा अब्बल स्थान कायम गराउनु केपी ओली कपको लक्ष्य रहेको आयोजकको भनाई छ । यही लक्ष्यका साथ राष्ट्रिय युवा संघ, नेपालका संस्थापक अध्यक्ष एवं प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नामबाट स्थापित ‘केपी ओली कप’ फुटबल प्रतियोगिता २०७९ सालबाट प्रारम्भ गरिएको हो।
