तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब विजयी सुरुवात गरेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा एपिएफले उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा ४-३ ले पराजित गरेको हो ।
जितसँगै एपिएफ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ ।
पहिलो खेलमै पराजित भएको ब्ल्याक बुल्स भने प्रतियोगिताबाट बाहिरिएको छ । ब्ल्याक बुल्सले गत माघमा पोखरामा भएको २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।
खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । ट्राइब्रेकरमा एपीएफका गोलकिपर एन्जल श्रेष्ठ नायक बने । उनले ब्ल्याक बुल्सका दुई प्रहार बचाउँदै खेल आफ्नो पक्षमा पारे ।
फागुन १८ गतेसम्म हुने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछ । बिहान साढे ११ बजे दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्युरोड टिम ( एनआरटी) बिच प्रतिस्पर्धा हुने छ ।
