टाइब्रेकरमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई पराजित गर्दै संकटा क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा एपिएफलाई टाइब्रेकरमा ५–३ ले हराउँदै संकटा अन्तिम चारमा प्रवेश गरेको गरेको हो ।
निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।
टाइब्रेकरमा संकटाका गोलकिपर दीप कार्की नायक बने । उनले एपीएफको एक पेनाल्टी बचाउँदा लगत्तै विजयी पेनाल्टी स्कोर समेत गरे ।
एपीएफ क्लब झापाबाट खेलेर आज विहान मात्र काठमाडौं आएको थियो । वार्मअप नगरी मैदानमा उत्रिएको एपीएफ ९० मिनेटसम्म उत्कृष्ट प्रदर्शन गर्न सफल भएपनि टाइब्रेकरमा अभागी साबित भयो ।
अब संकटाले फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । आजै हुने अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र र ट्रान्सपोर्ट युनाइटेड खेल्ने छन् ।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।
