उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा भारत सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले पराजित गर्दै ब्ल्याक बुल्स अन्तिम चारमा प्रवेश गरेको हो ।
योसँगै आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब ले सेमिफाइनल पुगिसकेका छन् ।
नर्थ युनाइटेडलाई जित दिलाउन इस्लोमजोन अब्दुकोडिरोभ, साइडजामोल दाभलातजोनोभ र साभ्कातजोन सत्तोरोभले गोल गरे ।
खेलको ३८औं मिनेटमै इस्लोमजोनले गोल गर्दै ब्ल्याक बुल्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले अगाडी रहेको ब्ल्याक बुल्सले दोस्रो हाफमा दुई गोल थप्यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका साइदजमोल दाभलातजोनोभले टोलीको अग्रता दोब्बर पारे ।
खेलको ७५ औं मिनेटमा साभ्कातजोनले गोल गर्दै ब्ल्याक बुल्सलाई ३-० को सहज जित दिलाए । नर्थ युनाइटेडले अब फाइनल प्रवेश गर्न थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबिच हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछ ।
