दुई पटक उपाधि उचाली सकेको सगरमाथा युथ क्लब मोरङ इटहरीमा जारी १५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार इटहरी रंगशालमा भएको दोस्रो सेमिफाइनल खेलमा धरान फुटबल क्लबलाई १-० गोल अन्तरले हराउँदै सगरमाथा युथ क्लब उपाधि नजिक पुगेको हो ।

दुवै टिमबिचको अत्यन्तै प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा सगरमाथाका कुलदिप कार्कीले गोल गरे । उनले प्लान्टीमार्फत गोल गरेका हुन् ।

डि बक्सभित्र धरानका प्रज्वल थापाले फल गरेपछि पाएको प्लान्टीमार्फत कुलदिपले गोल गरे । उनले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पनि कुलदिप नै भए । उनले नगद दस हजार प्राप्त गरे ।

खेलमा दुवै टीले थुप्रै गोल गर्ने अवसर चुकाएका थिए । धरानले बुढासुब्बा गोल्डकपको २५औं संस्करणमा पहिलो चरणबाटै बाहिरिएपछि इटहरी गोल्डकपको क्वाटरफाइनल खेल जितेसँगै उपाधि उचाल्ने सपना साचेतापनि सेमिफाइनलमै रोकिनु परेको छ ।

अब सगरमाथाले शनिबार उपाधिका लागि मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ । सगरमाथा युथ क्लबले क्वाटरफाइनल खेलमा एनआरटी क्लब काठमाडौंलाई १-० गोलको अन्तरले पराजित गरी सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो । सगरमाथा युथ क्लबले १२ र १३औं संस्करणमा इटहरी गोल्डकपको उपाधि उचाली सकेको छ ।

धरान फुटबल क्लबले क्वाटरफाइनल खेलमा चर्च ब्वाइज यूनाइटेड क्लबलाई २-१ गोलको अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको थियो ।

गोल्डकपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *