इटहरी । सगरमाथा युथ क्लब मोरङ, इटहरीमा जारी १५औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार इटहरी रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा न्यूरोड टिम काठमाडौँ (एनआरटी) लाई १-० गोल अन्तरले पराजित गर्दै सगरमाथाले अन्तिम चारमा सुरक्षित गरेको हो ।
एनआरटी हालै धरानमा सम्पन्न २५औं बुढासुब्बा गोल्डकपको विजेता टोली हो ।
खेलको छैटौं मिनेटमा सगरमाथाका लागि विदेशी खेलाडी रिचार्डले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट गोल नभएका कारण उनै रिचार्डले गरेको गोल नै निर्णायक बन्यो ।
खेलको म्यान अफ दि म्याच सगरमाथाका रिचार्ड घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत सोमबार तेस्रो क्वाटरफाइनल खेल झापा एघार फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ ।
राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ ।
