पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकपमा थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै थ्री स्टार अन्तिम ४ मा प्रवेश गरेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।

टाइब्रेकरमा थ्री स्टार ४-२ गोलले विजयी भयो ।

टाइब्रेकरमा थ्री स्टारका लागि लक्ष्मण रुचाल, विराज महर्जन, फोडे फोफना र दिपेश घलेले गोल गरे । मच्छिन्द्रका लागि दिवाकर चौधरी र सनिस श्रेष्ठ मात्र सफल भए ।

मच्छिन्द्रका विशाल घलानको प्रहार बारमा लागेर फर्किदा आदित्य शाक्यको प्रहार थ्री स्टारका गोलकिपर सरिन जिसीले विफल पारे ।

खेलको म्यान अफ दि म्याच थ्री स्टारका दिपेश घले घोषित भए । उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरे ।

थ्रीस्टारले सेमिफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वार्टरफाइनलको विजेतासँग खेल्नेछ । 

प्रतियोगिताअन्तर्गत सोमबार तेस्रो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *