धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डीसीए धनगढीले पहिलो जित दर्ता गरेको छ । आइतबार फाप्ला मैदानमा भएको दिनको दोस्रो खेलमा धनगढीले घोडाघोडी-११ लाई ६९ रनले पराजित गरेको हो ।

१५० रनको लक्ष्य पछ्याएको घोडाघोडी १६.५ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमा अल आउट भयो । घोडाघोडीका लागि टेक रावतले १८ रन र दीपक टमट्टाले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

धनगढीका ललित राजवंशीले ३ विकेट लिए । उनी खेलका म्यान अफ द म्याच पनि भए । धनगढीका मिलन बोहोरा र राहु भण्डारीले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा नौ विकेटको गुमाएर १४९ रनको योगफल तयार पारेको थियो । धनगढीका लागि राजु रिजालले २७ बलमा ३७ रन जोडे । यस्तै लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले १९ रन बनाए ।

घोडाघोडीका लागि धर्मराज जोशीले ३ तथा नरेन साउँदले २ विकेट लिए । धनगढी एक खेलमा पराजित भइसकेको छ भने घोडाघोडीको यो पहिलो खेल हो ।

यसअघि आइतबार नै भएको दिनको पहिलो खेलमा सिवाइसी अत्तरियाले दशरथ चन्द एकेडेमीलाई पराजित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा सिवाइसी अत्तरिया र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौं प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *