फ्रेन्ड्स क्लब डडेल्धुरा र डीसीए धनगढी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेका छन् । 

समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतियोगिताबाट यसअघि नै बाहिरिएको बोष्टम एकेडेमी झापाले घोडाघोडी– ११ माथि एक रनको रोमाञ्चक जित निकालेसंगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दुई टिमको टुंगो लागेको हो । आजको हारसँगै दुई खेलमा अंकविहीन रहेको घोडाघोडी–११ पनि प्रतियोगिताबाट बाहिरिएको छ । 

धनगढीले समूह चरणका तीन वटै खेल खेलिसकेको छ । तीनमा दुई जित र एकमा पराजित भएको धनगढी चार अ अंकसहित अन्तिम चारमा पुगेको हो । डडेल्धुराले भने अहिलेसम्म दुई खेल खेलेकोमा दुबै खेलमा जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा डडेल्धुराले बिहीबार घोडाघोडी–११ को सामना गर्नेछ । उक्त खेलबाट समूह बिजेताको टुंगो लाग्ने छ । 

बुधबार भएको दिनको दोस्रो खेलमा झापाले दिएको १६२ रनको लक्ष्य पछ्याएको घोडाघोडीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो ।

घोडाघोडीका ओपनर दिनेश रावतले सर्वाधिक ६४ रन बनाए। ४० बल खेली उनले चार चौका र पाँच छक्का प्रहार गरे। आयुब चन्द २४, दीपक टमटा १९ र कप्तान शेर मल्ल १० रन बनाए । झापाका अभिषेक कार्कीले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए । अरुण ऐरी र रमेश भट्ट र सौर्य श्रेष्ठले समान १ विकेट लिए ।

त्यसअघि धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको झापाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो ।

झापाका रोशन साहले सर्वाधिक ४१ रन बनाए । १५ बल खेली उनले एक चौका र पाँच छक्का प्रहार गरे । यस्तै झापाका लागि अभिषेक कार्कीले १८ बलमा अविजित ३७ रन, रोहन विकले पनि ३७ रन र पवन कार्कीले २० रन बनाए ।घोडाघोडीका शेर मल्लले सर्वाधिक २ विकेट लिए । नरेन साउँद, सुर्य श्रेष्ठ र आयुव चन्दले समान १ विकेट लिए । 

खेलको म्यान अफ दि म्याच झापाका रोशन शाह चुनिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

बुधबार नै भएको दिनको पहिलो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंले न्यू होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *