नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छिन् ।
हाल युरोपको क्लबबाट ब्यवासायिक फुटबल खेलि रहेकी एञ्जिना राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न आज (बुधबार) नेपाल आईपुगेकी हुन् ।
एञ्जिला घरेलु मैदानमा हुन लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न नेपाल आएकी हुन् । उनी एयर अरेबियाको फ्लाइटमार्फत आज दिउँसो १ बजे काठमाडौं अवतरण गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी एञ्जिला युरोपमा खेल्ने दोश्रो नेपाली खेलाडी हुन् ।
नेपाललले आसन्न एएफसी वुमन्स एसिया कप र फिफा वुमन्स विश्वकप छनोटको तयारी स्वरुप काठमाडौंमा अन्तर्राष्ट्रिय वुमन्स च्याम्पियन्ससिप खेल्न लागेको हो ।
प्रतियोगिता आगामी फागुन ५ गतेदेखि १३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्दै छन् ।
नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने छ। नेपाल किर्गिस्तानबीचको खेल फागुन ५ गते दशरथ रंगशालामा साँझ ५:३० बजे शुरु हुनेछ । यसैगरी नेपालले दोश्रो खेल फागुन ८ गते लेबनान र तेश्रो खेल ११ गते म्यानमारसँग खेल्ने छ ।
फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न लागेको हो । प्रतियोगिताका लागि हाल ३० सदस्यीय नेपाली टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ ।
