अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ ।

सोमबार बेलुका सम्पन्न खेलमा किर्गिस्तानलाई १-० ले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको जितमा बिमला चौधरीले एक गोल गरिन् ।

उनले दसौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । बिमलाले सबिता राना मगरले दिएको सटीक पासमा हेडमार्फत गोल गरेकी थिइन् ।

त्यसपछि भने नेपाल फिनिसिङमा चुक्यो । पटक-पटक गोलको अवसर पाउँदा पाउँदा पनि नेपाल किर्गिस्तानविरुद्ध फराकिलो जित निकाल्न चुकेको हो । नेपाली टोलीकी प्रीति राई प्लेयर अफ दि म्याच घोषित भइन् ।

नेपालले सन् २०१९ मा भएको नादेज्दा कपमा किर्गिस्तानलाई ८-२ ले हराएको थियो । तर, यसपटक घरेलु मैदानमा म्याच खेले पनि नेपालले त्यसअनुसारको नतिजा भने हात पार्न सकेन ।

आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो। चारै टिमले एक-एक खेल खेल्दा म्यानमार र नेपालले समान ३/३ अंक जोडेका छन् ।

जारी प्रतियोगितामा नेपालले अब बिहीबार लेबनानसँग खेल्ने तालिका छ । यस्तै, नेपालले लिग चरणको अन्तिम खेलमा ११ गते म्यानमारको सामना गर्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *