बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगितामा दमक नगरपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड -३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम प्रि-क्वाटरफाइनल खेलमा दमक नगरपालिकालाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

दमक नगरपालिकाको पोस्टमा गोल वर्षा गर्ने क्रममा जेनिफर मगर र मेनुका मगर खतरा सावित भए । अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन भने २ गोल मेनुका मगरको नाममा रह्यो ।

एकोहोरो दबाब झेलेको दमकविरुद्ध पहिलो हाफमै ६-० गोलको फराकिलो अन्तर अर्जुनधाराले निकालेको थियो । जसमा जेनिफरले ४ र मेनुकाले २ गोल गरेकी थिइन् । जेनिफारले खेलको ३, ७ र १७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

यस्तै, २६ मिनेट र ५८औं मिनेटमा जेनिफरले थप गोल गरेकी हुन् । मेनुकाले २० र २२औं मिनेटमा गोल गरेकी थिइन् । जेनिफरले प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाइन् ।

प्रतियोगिताअन्तर्गत सोमबार पहिलो क्वाटरफाइनल खेल आयोजक बिर्तामोड नगरपालिका र कनकाई नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *