होरा इस्पोर्ट्सले इशान दोस्रो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ ।

शनिवार राति सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै होरा च्याम्पियन बनेको छ । च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु के एक अंकले पछि पर्यो । टि टु के ले १२१ अंक जोडेको थियो । यस्तै दाई इस्पोर्ट्स तेस्रो, होइन इ स्पोट्स चौथो र डिआरएस गेमिङ पाँचौ भयो ।

कूल प्राइज राशी २५ लाख रहेको प्रतियोगितामा पब्जीतर्फ सबैभन्दा धेरै १० लाख १० हजार पुरस्कार राखिएको थियो । जसमा विजेता होरा इस्पोर्ट्सले नगद २ लाख ५० हजार र ट्रफी प्राप्त गर्यो । यस्तै दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाई इस्पोर्ट्सले १ लाख २० हजार पायो ।

यस्तै रोयल ड्रागन इस्पोर्ट्स छैटौं, जुट्टी इस्पोर्ट्स सातौं, फोर डेथ मेसिन आठौं, नेप्क्स नवौँ र सोल्टी स्क्वाड दशौँ भए । अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाएका थिए । होरा इस्पोर्ट्सका स्काई होरा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

यस्तै मोबाइल लेजेण्ड ब्याङ ब्याङको उपाधि औराले जित्यो । फाइनल चरणमा प्रतिस्पर्धा गरेका हुमिङ बर्डलाई पराजित गर्दै औरा च्याम्पियन बनेको हो । मोबाइल लेजेण्ड्सको विजेता औराले १ लाख ८२ हजार र ट्रफी प्राप्त गर्यो भने उपविजेता हमिङ बर्डले १ लाख ४ हजार पायो ।

ला फिएर्टे तेस्रो, ट्रस्ट दि प्रोसेस चौथो, एलिसिउम पाँचौ, हार्बिनगर्स छैटौं, आरएसजी कोज्जा इस्पोर्ट्स सातौं र डाँफे इस्पोर्ट्स आठौं भयो । यस विधामा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गरे । एमएलबीबीमा औराका भोइड मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

यसैगरी डोटा टुको उपाधि कीर्तिपुरले जित्यो । च्याम्पियन कीर्तिपुरले नगद १ लाख ५ हजार र ट्रफी प्राप्त गर्यो । डोटा टु मा स्नेक दोस्रो र एभेन्जर्स तेस्रो भयो । डोटा टु मा तेनजिकु ग्याङ चौथो, वन लास्ट राइड पाँचौ, केइकेडब्लु छैटौं, ढेडुस सातौं र राजेस हमाल इज ब्याक आठौं भयो ।

भालोरेन्टको उपाधि नो टक वन्ली किलले जित्यो । च्याम्पियन नो टक ओन्ली किलले पनि १ लाख ५ हजार प्राप्त गर्यो । भालोरेन्टमा काल्म डाउन दोस्रो र अर्केन तेस्रो भयो । भालोरेन्ट र डोटा टु दुवैमा दोस्रोले समान ६० हजार र तेस्रोले समान ४५ हजार प्राप्त गरे । भालोरेन्टमा कृउ एक्स चौथो, ओल्ड जिन्स पाँचौ, ब्रिटिस कलेज छैटौं, कपिलवस्तु सातौं र बत्ती बल्यो आठौं भयो ।

डोटा टु मा टिम कीर्तिपुरका लक्षय तामाङ तथा भालोरेन्टमा नो टक वन्ली किलका रियाल सिंह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । इ-फुटबलको उपाधि हृजवान श्रेष्ठले जिते । उनले नगद ९० हजार पुरस्कार र ट्रफी प्राप्त गरे । यस्तै स्वप्निल अधिकारी दोस्रो, बुद्धि बहादुर भट्टराई तेस्रो तथा सन्दिप गोले तामाङ चौथो भए । कस प्लेमा रिमा बिशान्की पहिलो भइन् भने गुन्जेस श्रेष्ठ दोस्रो, रोनि सुब्बा तेस्रो, लासेवा सुब्बा चौथो र इशान श्रेष्ठ पाँचौ भए ।

इ इस्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा फागुन ८ देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको इस्पोर्ट्स नेशनल च्याम्पियनसिपमा पब्जीसहित विभिन्न ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो ।

अन्तिम चरणमा पब्जीमा १६ टिम, इ-फुटबलमा १६ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ३-३ टिम तथा मोबाइल लेजण्ड्समा २ टिम प्रतिस्पर्धा गरेका थिए। । यसैगरी कस प्लेमा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाएका थिए । विजेतालाई पूर्व मन्त्री नारायणकाजी श्रेष्ठ, सांसद माधव सापकोटा, राखेप पूर्व उपाध्यक्ष शिव कोईराला, इशान अध्यक्ष अन्जन धमला लगायतले पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *