विदुर नगर मेयर कप चेस प्रतियोगिता शुरु

२०८१, ६ फाल्गुन मंगलवार १९:३८

नुवाकोट । नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा मंगलबारदेखि प्रथम मेयरकप चेस प्रतियोगिता आरम्भ भएको छ । तीन दिनसम्म चल्ने क्लासिकल विधाको चेस स्पर्धामा पहिलो दिन सबै शीर्ष खेलाडीहरुले जित दर्ता गरेका छन् ।

विदुर नगरपालिकाको प्रायोजनमा शुरु भएको प्रतिस्पर्धामा सिएम शुश्रुत दहालले स्थानीय विनोद तिमल्सिनामाथि कठिन विजय प्राप्त गरेका छन् ।

विदुर नगरको वडा नं. १ ढुङ्गेस्थित होटल याङ्‌ङ्ग्रमा सम्पन्न खेलमा आशिष् फूँयाल, तिन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली, पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार, धिरेन राई, हर्कबहादुर चोङ्‌वाङ, सक्सेस श्रेष्ठ, सानुराज बज्राचार्यले सहज जित प्राप्त गर्दै १ अंक जोडेका छन् ।

यस्तै आयोजक नुवाकोट जिल्ला संघका अध्यक्ष प्रकाश जोशी, जेनिश घिमिरे, सिएम पुरुषोत्तम चौलागाईं, बुद्धिचाल डटकम सञ्चालन सुशील चौधरी, प्रेमकृष्ण महर्जन, राजन पुरी, मुहान नरसिंह श्रेष्ठ, एक्स मार्सल, मिशन दहाल, सुरेन्द्र लामा, सुशील सुवेदीले प्रतिद्वन्द्वीलाई पाखा लगाएका छन् ।

यसैगरी भारतका आशुतोष कुमार, अर्मान सिद्दक्यू, इकबाल मज, मोहित कुमार सोनी, प्रखर त्रिपाठी, विनायक सिं यादव, आभाष कुमार श्रीवास्तबले पनि आफ्नो पक्षमा खेल पारेका छन् ।

महिलातर्फ नेशनल ‘बी’ च्याम्पियन बिनिता कपाली, भारतका प्रकाश वैष्णवी, शान्ति धिमालले पहिलो जित प्राप्त गरेका छन् ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ७४ जना खेलाडीले सहभागी जनाउदै कूल नगद पुरस्कार रु. २ लाख १७ हजार, मेडल, आकर्षक ट्रफिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

यसैबीच खेल पूर्व विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष विजय गुरुङ, वडा नं. ४ २९ का अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष, खेलकर्मी, पत्रकार लगायतका महत्त्वपूर्ण व्यक्तिहरुको उपस्थितिमा बाजागाजा सहित नगर परिक्रमा गरेका थिए ।

नगर परिक्रमा लगत्तै भएको उद्घाटन समारोहमा मेयर राजन श्रेष्ठले बुद्धिचाल खेल विद्यालयस्तरमा पुऱ्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मेयर राजन श्रेष्ठले पहिलो मेयर कपमा विदेशी खेलाडीको सहभागीताले पर्यटन बिकासमा समेत टेवा पुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *