झापा । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता -२०८१ फागुन ११ गते देखि सुरु हुने भएको छ ।

महासंघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिता फागुन ११ देखि १६ गते सम्म दमकमा हुने भएको हो ।

आज दमकमा पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले प्रतियोगिताले खेलाडीहरुलाई आफ्नो क्षमता र प्रतिभा देखाउने अवसर प्रदान गर्ने बताउनु भयो । बस्नेतले बोर्डले हरेक वर्ष विभिन्न खेलको प्रतियोगिता आयोजना गर्दै आएकोमा खेल प्रतियोगिताको निरन्तर आयोजनाले खेलाडीको प्रतिभामा निखार आउने धारणा व्यक्त गर्नु भएको थियो ।

त्यस्तै, महासंघ कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले महिला भलिबल खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रगति गर्दै गएकोले स्थानीय स्तरमा समेत खेलाडीहरुलाई अवसर उपलब्ध गराउने किसिमले प्रतियोगिताको आयोजना गर्ने तयारी गरिरहेको बताउनु भयो । थापाले महासंघ कोशी प्रदेशले गत वर्ष’ केपी ओली रोड रेस’ प्रतियोगिता आयोजना गरेको बताउँदै कमिटीले महासंघको’ एक कमिटी, एक खेल गतिविधि’ अनुरुप प्रतियोगिता आयोजना गर्ने तयारी गरेको जानकारी दिनु भयो ।

प्रतियोगितामा सात वटा प्रदेश र तीन विभागीय आर्मी, पुलिस र शसस्त्रको टोली गरि १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो टोलीले क्रमश: ५ लाख, ३ लाख र १ लाख ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *