नेपालले काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी-२० आई सिरिजमा आज आफ्नो छैटौं तथा अन्तिम खेलमा थाइल्याण्डको सामना गर्दैछ ।
किर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँसो सवा १२ बजेदेखि शुरु हुनेछ ।
सिरिजकै अन्तिम खेलको रूपमा रहेको यस खेलपछि उपाधि विजेताको टुंगो लाग्नेछ । हालसम्म जितविहीन रहेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ ।
थाइल्याण्ड र नेदरल्याण्ड्स समान ४-४ जितसहित उपाधि होडमा छन् । शुक्रबार थाइल्याण्डले नेपाललाई हराएमा थाइल्याण्डले उपाधि जित्नेछ ।
नेपाल थाइल्याण्डलाई हराउँदै सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ । फराकिलो जित निकालेमा नेदरल्याण्ड्सको पनि उपाधि जित्ने सम्भावना रहन्छ ।
फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम सिरिज विजेता बन्ने प्रावधान छ ।
